बाह्य प्रजातिको वृक्षारोपण र रैथानेको योगदान

    images

    चैत अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म साल (सखुवा) को फूलले रङ्गीन र बास्नामय बनेको चुरे तथा तराईका सालको वनले निकै चर्चा पायो । साल फुलेर ढकमक्क भएका डाँडा, वन–पाखाका निकै मनमोहक दृश्य क्यामेरामा कैद भए । सामाजिक सञ्जालका भित्ता रङ्गीन बने । मूलधारका पत्रिकाले कसैले फिचर छापे त कतिले फोटो कथा छापे । सालको फूलको सौन्दर्यको प्रचार यसपालि जति यसअघि सायदै भयो होला । 

    यसपछि जेठको पहिलो सातादेखि सालको वनमा फेरि एउटा रोमाञ्चक दृश्य देख्न सकिन्छ । अहिले सालको फलहरू पाकेर आफ्नो रङ्ग फेरिरहेका छन् । रुखमुनि बसेर हेर्दा हावाको वेगसँगै सालका पाकेका फल रुख छाडेर धर्ती चुम्न एकापसमा तँछाडमछाड गर्दै छन् । सालको बिउमा भएका प्वाँख फिँजाइ आफ्नो उडान भरिरहेका छन् । सालको फलहरू फिरफिरेझैँ नाच्दै गरेको दृश्यले मोहित तुल्याउँछ । सालको वनमा अहिले भुइँभरि बिस्कुन सुकाए जसरी फिँजिएका छन् । 

    सालको फूलको सौन्र्दय होस् वा अहिले फिरफिरे जसरी नाच्दै झरेका सालका बिउ– दुवै उत्तिकै आकर्षक छन् नै, यी बिउले वन पुनस्र्थापनामा पुर्‍याउने योगदान कम चर्चा योग्य छैन । मनसुनी वर्षा सुरु हुनुअघि जमिनमा आफ्नो अस्तित्व खोज्दै गरेका बिउको हामीले महिमा गाउन कञ्जुस्याइँ गरेका त छैनौँ ? वन पुनस्र्थापनाको बृहत लक्ष्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा यस्तो कञ्जुस्याइँ झन् प्रस्टै देखिन्छ । 

    sal2

    संयुक्त राष्ट्र संघले सन् २०२१–२०३० लाई वन पुनस्र्थापना दशकका रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याएको छ र नेपालको तर्फबाट पनि प्रयास भइरहेका छन् । नेपालमा विशेषगरी वृक्षारोपणलाई वन पुनस्र्थापनाको एउटा मुख्य माध्यमका रूपमा अंगीकार गरिएको छ । बर्सेनि तराईदेखि हिमाली वन क्षेत्रसम्म वृक्षारोपण गरिँदै आइएको छ । नेपालको तराई र चुरे क्षेत्रमा आयातीत वनस्पति विशेष गरी टिक, मसला, चेक्रासी, पाउलोनिया, मलेसियन सालजस्ता प्रजातिको वृक्षारोपण गर्दै आएको प्रस्टै देखिन्छ । पहाडी क्षेत्रमा इपिल इपिल, पाटे सल्लाजस्ता प्रजातिको वर्चस्व रहेको छ । यस्ता बाह्य प्रजातिको वृक्षारोपणले वातावरणमा पार्ने प्रभावका बारेमा वैज्ञानिक खोज तथा अनुसन्धान बिरलै भएका छन् । तराई तथा चुरेका साल वन क्षेत्रको प्राकृतिक पुनस्र्थापना क्षमता राम्रो भए पनि त्यस्ता वन क्षेत्रमा समेत बाह्य प्रजातिको वृक्षारोपण भइरहेको देख्न सकिन्छ । तराईका सजिलै र थोरै लगानीमा छोटो समयमै वनको पुनस्र्थापना गर्न सकिने क्षेत्रमा समेत वृक्षारोपणलाई नै उच्च प्राथमिकता दिइएको छ । 

    वन क्षेत्रमा स्थानीयको प्रत्यक्ष रूपमा जीविकोपार्जन जोडिएको हुन्छ । साल मिश्रित बहुपयोगी वन पैदावार भएका क्षेत्रमा बाह्य प्रजातिको वृक्षारोपणले वनमा आश्रितको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको देखिन्छ । बाह्य प्रजातिको वृक्षारोपणले स्थानीयको जीविकोपार्जनसँग जोडिएका वन पैदावारजस्तै डाले घाँस, जंगली कन्दमूल, जडिबुटी आदिको आवश्यकता पूर्ति गर्न सक्दैनन् । उदाहरणका लागि रैथाने प्रजाति जमुना एउटा बहुपयोगी प्रजाति हो । यसको काठ, बोक्रा, फल स्थानीयका लागि अति महत्त्वपूर्ण छ । 

    त्यसैगरी जमुनाको फल वन्यजन्तु र चराचुरुङ्गी संरक्षणका लािग पनि निकै महत्त्वपूर्ण छ । टिक, मसला, चेक्रासी, पाटे सल्लाजस्ता बाह्य प्रजाति न डालेघाँसमा प्रयोग हुन्छन्, न त यिनी रैथाने प्रजाति जति उपयोगी नै हुन्छन् । यस्ता बाह्य प्रजातिले न संरक्षणमा न त वन पुनस्र्थापनामै रैथाने प्रजाति जति योगदान गर्न सक्छन् । विभिन्न अध्ययनले वातावरणीय दृष्टिकोणबाट बाह्य प्रजाति उपयुक्त नभएको तथ्य प्रकाशित गरिरहेका छन् । 

    वातावरणीय दृष्टिकोणले अति नै संवेदनशील मानिने नेपालकै कान्छो र तराई क्षेत्रको पानी भण्डारण क्षेत्र मानिने चुरेमा समेत माटोको प्राकृतिक अवस्थालाई खलबल हुने गरी बाह्य प्रजातिका बिरुवा रोप्नाले के–कस्तो असर पारेको छ भन्ने सम्बन्धमा अध्ययन बिरलै भएका छन् । टिक तथा मसला वृक्षारोपण गरेको क्षेत्रमा जमिन सुक्खा तथा तल्लो तहका वनस्पतिहरू (अन्डरस्टोरी) को अंकुरण र पल्लवन अन्य प्राकृतिक वन क्षेत्रको तुलनामा एकदम न्यून देखिन्छ । टिकको बाहुल्य भएका जमिन रैथाने प्रजातिको पुनरुत्पादनरहित भएको सजिलै देख्न सकिन्छ । प्राकृतिक वनमा बाह्य प्रजातिको भित्र्याउनाले रैथाने प्रजाति संकटमा पर्न सक्छन् । 

    नेपालमा सरकारी क्षेत्रबाटै धेरै परिश्रम र करोडौँ रकमको लगानीमा बर्सेनि ठूलो संख्यामा देशैभरि वृक्षारोपण हुँदै आएको छ भने अन्य गैरसरकारी संघ–संस्थाको लगानी पनि उत्तिकै छ । लुम्बिनी प्रदेश सरकारले आव ०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २०७८ असारमा नवलपरासी सुस्ता पश्चिमको सुनवल नगरपालिका जर्गाहास्थित कोटहीदेवी सामुदायिक वनमा एक घन्टामै २० हजार ९ सय १७ बिरुवा रोपेर राष्ट्रिय रेकर्ड कायम गरेको थियो । प्रत्येक डिभिजन वन कार्यालय मातहतमा वन नर्सरीहरू व्यवस्थापन गरिएको छ । 

    एउटै नर्सरीबाट हजारौँको संख्यामा बिरुवा वितरण गरिन्छ र रोपिन्छ, तर रोपिएपश्चात् बिरुवाको गोडमेल तथा हेरचाह बिरलै भएको पाइन्छ । फलतः पछिल्लो केही वर्षका धेरैजसो वृक्षारोपण असफल भएको तितो यथार्थ हामीमाझ छ । वन पुनस्र्थापना अन्तर्गत गरिएका वृक्षारोपणले कति क्षेत्रमा वन पुनस्र्थापना भयो वा भएन भन्ने यकिन आँकडा कुनै निकायसँग छैन । अझ सबैभन्दा विडम्बना त लगातार ५/६ वर्ष एकै ठाउँमा निरन्तर वृक्षारोपण गरिएका उदाहरण समेत भेटिन्छन् । वृक्षारोपणबाहेक वन पुनस्र्थापना अन्य माध्यमको अभ्यास कम भएका छन् । 

    वन तथा वातावरणसँग सम्बन्धित संघीय तथा प्रदेश स्तरीय ऐन, नियमावली तथा नीतिहरूले वनभित्र भू–उपयोग परिवर्तन नहुने गरी सामान्य खनजोत गरी सालको बिउ छर्न सकिने व्यवस्था गरेको छ, विषेशतः लुम्बिनी प्रदेश वन ऐनमा । त्यसैगरी दिगो वातावरणीय सेवा तथा जैविक विविधता संरक्षणको कुरा गरिएको छ, विडम्बना अभ्यास एकदम न्यून छ र अझ पनि हामी वर्षायाम सुरुसँगै त्यही बाह्य आयातीत बिरुवा रोप्न कुरिबसेका छौँ । 

    अहिले प्रशस्त झरेका परिपक्व सालको बिउलाई सामान्य खनजोत गरी बिरुवा उत्पादन गर्न सके वन पुनस्र्थापनामा राम्रो अनि दिगो नतिजा ल्याउन सकिन्छ । सालको अंकुरण क्षमता राम्रो भएकाले सामान्य खनजोत तथा झाडी सफाइ गरेर खाली ठाउँमा बिरुवा प्राकृतिक रूपमै उमार्न सकिन्छ । उचित वातावरण भएमा उम्रेका बेर्नामध्ये केही हिस्सा हुर्काउन सकिन्छ । यसरी रैथाने प्रजातिको पुनरुत्पादन गर्दा वनको जैविक विविधता पनि संरक्षण हुने र स्थानीय उपभोक्ताको माग पनि पूर्ति हुने गर्दछ । वृक्षारोपण विधिमा लाग्ने परिश्रम, समय र लगानीमा केही हदसम्म कम गर्न सकिन्छ । समग्रमा वन पुनस्र्थापना भई जैविक विविधताको संरक्षण तथा उपयोग गरी सिङ्गो समाजको समृद्धिमा टेवा पुर्‍याउन सक्छ । त्यसैले अहिले भुइँमा झर्दै गरेका बिउलाई वन पुनस्र्थापनामा प्रयोग गरौँ । वनको प्राकृतिक पुनरुत्पादन क्षमतालाई प्रवद्र्धन गरौँ । 

    साभार:www.ratopati.com

      शुक्रबार​ १२ जेठ २०८० १०:४२ AM मा प्रकाशित

      प्रतिक्रिया