नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। आज पनि करिब ६० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा आश्रित छ। तर, कृषिमा उत्पादनशीलता न्यून छ, वैदेशिक रोजगारले खेत खाली छन्, जलवायु परिवर्तनले खेती प्रणाली जोखिममा पारेको छ, र प्रविधिमा अझैपनि अपेक्षित गति आएको छैन।
यस्ता चुनौतीहरूको समाधानका रूपमा हामीले एक समयमै नहेरिएको, तर अत्यन्त प्रभावकारी माध्यममा ध्यान केन्द्रित गर्न जरुरी छ—कृषि यान्त्रिकीकरण साक्षरता।
किन आवश्यक छ यान्त्रिकीकरण साक्षरता?
यान्त्रिकीकरण साक्षरता भनेको केवल मेशिन चलाउने सीप मात्र होइन। यसले कुन प्रविधि कहाँ उपयुक्त हुन्छ भन्ने जानकारी, आर्थिक लाभ र कार्य दक्षताको बुझाइ, सम्भार, मर्मत, सेवा सुविधा र स्थानीय उत्पादन सम्भावना को ज्ञान, किसान र सेवा प्रदायकलाई सही छनोट, सुरक्षित प्रयोग र दीर्घकालीन टिकाउ प्रयोग मा सक्षम बनाउने क्षमता अभिबृद्दि गर्ने पनि हो ।
यदि यान्त्रिकीकरण साक्षरताको अभाव रहिरह्यो भने, निजि क्षेत्र, सरकार वा विकास साझेदारद्वारा ल्याइएका प्रविधिहरू दीर्घकालीन रूपमा सफल हुन सक्दैनन्।
हालका चुनौतीहरू
नेपालमा केही यान्त्रिक उपकरणहरू अनुदानमार्फत वितरण भएका छन्, सेवा केन्द्र स्थापना प्रयास भएको छ। तर निम्न चुनौतीहरू अझै कायम छन्:
सन्दर्भअनुकूल प्रविधिको अनुसन्धानको अभाव – मेशिनहरू हाम्रो भौगोलिक बनावट, स-साना खेत र मौसमी प्रणालीसँग अनुकूल हुँदैनन्।
निजी क्षेत्रको सीमित संलग्नता – यान्त्रिकीकरण अझै पनि ‘सरकारी अनुदान’ को रूपमा मात्र बुझिन्छ।
प्राविधिक सेवा र साक्षरता कमजोर – किसानले मेशिन छनोटदेखि प्रयोगसम्म उचित सल्लाह पाउँदैनन्।
स्वदेशी नवप्रवर्तनमा लगानीको कमी – साना किसानका लागि उपयुक्त, सस्तो र वातावरणमैत्री प्रविधिको विकासका लागि अनुसन्धान प्रोत्साहन छैन।
लैङ्गिक र समावेशी दृष्टिकोणको अभाव – महिलाहरू र विपन्न वर्ग अझै पनि प्रविधिबाट टाढा छन्, जबकि उनीहरू खेतीको मूल श्रमिक हुन्।
भावी दृष्टिकोण
हामीले निर्माण गर्न चाहेको भविष्य यस्तो हो जहाँ नेपाली कृषि स्मार्ट, मर्यादित र आत्मनिर्भर हुन्छ। त्यो सम्भव छ भने, जब यान्त्रिकीकरणलाई साक्षरता, अनुसन्धान, व्यवसायिक सोच र समावेशी दृष्टिकोणका साथ अघि बढाइन्छ। त्यसका लागि निम्न उपायहरू अति आवश्यक छन्:
राष्ट्रिय यान्त्रिकीकरण साक्षरता अभियान – संघ, प्रदेश र पालिका तहमा यान्त्रिकीकरणको महत्व, प्रयोग, सम्भाव्यता र लाभबारे किसान, सेवा प्रदायक र सहकारीलाई शिक्षित गरिनुपर्छ।
प्रविधि नक्साङ्कन र उपयुक्तता परीक्षण – प्रदेशअनुसारको आवश्यकता, बाली चक्र, जमिनको अवस्था, श्रम आपूर्ति र जलवायुअनुकूल उपकरणको अनुसन्धान आवश्यक छ।
व्यवसायिक सेवा मोडलको प्रवर्धन – सेवा केन्द्र, कष्टम हायरिङ सेन्टर, सहकारी आधारित साझेदारी जस्ता नविन मोडललाई वित्तीय र नीति समर्थन दिइनुपर्छ।
सार्वजनिक-निजी साझेदारी (PPP) – सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र किसान समूहबीच सहकार्य गर्नुपर्ने समय आएको छ।
नीतिगत परिपत्र र योजना – यान्त्रिकीकरणलाई केवल ‘अनुदान’ हैन, राष्ट्रिय प्राथमिकता को रूपमा लिइनुपर्छ। ‘कृषि यान्त्रिकीकरण साक्षरता नीति’ र ‘राष्ट्रिय यान्त्रिकीकरण रोडम्याप’ आवश्यक छ।
समावेशी र वातावरणमैत्री प्रविधि – प्रविधिले श्रमिकको विस्थापन होइन, सशक्तिकरण गर्नुपर्छ। उपकरणको डिजाइन महिला, अपाङ्गता भएका व्यक्ति र साना किसान का लागि अनुकूल हुनुपर्छ।
निष्कर्ष
नेपालको कृषि अब बाँसको कोदालो र गोरु जोतेर मात्र चल्दैन। प्रविधिको आवश्यकता स्पष्ट छ। तर प्रविधिको उपयोगका लागि ज्ञान र साक्षरता अझ बढी आवश्यक छ।
यस अभियानमा सरकार, निजी क्षेत्र, सहकारी, अनुसन्धान संस्था र हरेक किसानको समान साझेदारी आवश्यक छ। यो मौका गुमायौं भने, नेपाली कृषि प्रतिस्पर्धात्मक बन्ने अवसर सधैंका लागि गुम्न सक्छ।
गुरु पूर्णिमाको उपलक्ष्यमा हार्दिक शुभकामना
प्रतिक्रिया